नियम २९
पुनरावेदन र पुनरावलोकन सम्बन्धी कार्यविधि
(१) आयोगबाट दायर भएको मुद्दामा अदालतबाट फैसला भई फैसलाको नक्कल प्राप्त भएपछि अध्ययन गरी सो उपर पुनरावेदन वा पुनरावलोकन गर्नु पर्ने नपर्ने सम्बन्धमा आयोगमा कार्यरत सरकारी वकील वा सो कामका लागि नियुक्त भएका कानून व्यवसायी वा सम्बन्धित अधिकृतले आफ्नो राय सचिव समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त रायमा सचिवले आफ्नो कुनै धारणा र राय भए सो समेत आयोगमा प्रस्तुत गर्नु पर्नेछ ।
(३) आयोगले मुद्दाको तथ्य, सम्बद्ध कानून, अदालतको फैसला तथा उपनियम (
१) र (२) बमोजिम प्राप्त राय समेतका आधारमा पुनरावेदन वा पुनरावलोकनका लागि निवेदन गर्ने नगर्ने कुराको निर्णय गर्नेछ ।
(४) आयोगबाट पुनरावेदन वा पुनरावलोकनका लागि निवेदन गर्ने निर्णय भएमा आयोगले सरकारी वकील वा सो कामका लागि नियुक्त कानून व्यवसायी वा सम्बन्धित अधिकृत मार्फत सम्बन्धित अदालतमा पुनरावेदन वा पुनरावलोकनको लागि निवेदन दायर गर्नेछ ।